जेनजी आन्दाेलनका क्रममा भागेका १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ
काठमाडौँ, ३० असोज । गत भदौ २४ गते भएकाे ‘जेनजी’ आन्दाेलनका क्रममा विभिन्न कारागारबाट भागेका १२२ जना फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले प्रदर्शनको मौका छोपेर भागेका यी कैदीबन्दीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये चोरीमा ३५ जना, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२ र सङ्गठित अपराधमा तीन जना कैदीबन्दीहरू रहेका छन्।
त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखनमा एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उहाँका अनुसार पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला छन्।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका अन्य कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको बताए। उनले आफ्नो समाज वा छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरू बसेको हुन सक्ने भन्दै, त्यस्तो देखिएमा तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेका छन्।
प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।