काठमाडौँमा भारी वर्षा : विष्णुमती नदीको जलसतह खतराको विन्दु नजिक, तटीय क्षेत्रमा उच्च सतर्कता
काठमाडौँ, १५ भदौ । काठमाडौँ उपत्यकामा सोमबार साँझदेखि भइरहेको भारी वर्षाका कारण विष्णुमती नदीमा पानीको सतह उल्लेख्य रूपमा बढेर खतराको तह नजिक पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीमा बाढीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।
महाशाखाका अनुसार काठमाडौँको गोंगबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जलसतहले खतराको विन्दु छुन लागेको मापन गरिएको छ । वर्षा निरन्तर भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले विष्णुमती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई भोलि बिहानसम्मै विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । काठमाडौँका अन्य खोलानालाहरूमा पनि पानीको सतह बढिरहेकाले किनार क्षेत्रका बासिन्दालाई सजग रहन सुरक्षा निकायले समेत आग्रह गरेको छ ।