सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने : प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षे सम्झौता

काठमाडौँ, भदौ १५ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य शिक्षा र सेवामा गुणात्मक फड्को मार्ने उद्देश्यका साथ प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच ऐतिहासिक सम्झौता भएको छ । प्रदेशका चारवटा प्रादेशिक अस्पताललाई आगामी २० वर्षसम्म विश्वविद्यालयको ‘शिक्षण अस्पताल’ का रूपमा प्रयोग गर्ने गरी शुक्रबार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

धनगढीमा आयोजित विशेष कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीको उपस्थितिमा उक्त सम्झौता भएको हो । सम्झौताअनुसार कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरिनेछ ।

सम्झौताका मुख्य बुँदाहरू

१. शैक्षिक कार्यक्रम सञ्चालन : चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त भएपछि यी अस्पतालहरूमा एमबीबीएस, स्नातक, स्नातकोत्तर, डीएम/एमसीएच  र पीएचडी  तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

२. जनशक्ति र फ्याकल्टी व्यवस्थापन : अस्पतालमा कार्यरत योग्य विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विश्वविद्यालयको नियमअनुसार ‘फ्याकल्टी’ पद प्रदान गरिनेछ । उनीहरूलाई प्रदान गरिने थप पारिश्रमिक र फ्याकल्टी डेभलपमेन्टका कार्यक्रमहरूको दायित्व विश्वविद्यालयले बेहोर्नेछ ।

३. पूर्वाधार र प्रविधि : विश्वविद्यालयले आफ्ना शैक्षिक गतिविधिका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, शैक्षिक सामग्री, पुस्तकालय र सूचना प्रविधिको विकासमा लगानी गर्नेछ । अस्पतालका विद्यमान उपकरण र पूर्वाधारलाई शैक्षिक प्रयोजनमा प्रयोग गर्न सकिने र आवश्यकताअनुसार विश्वविद्यालयले थप उपकरणहरू पनि जडान गर्न सक्नेछ ।

४. क्लिनिकल अभ्यास र सेवा : विद्यार्थीहरूले अस्पतालका ओपीडी, आईपीडी, ओटी र आईसीयूसहितका सबै विभागमा विशेषज्ञहरूको प्रत्यक्ष सुपरिवेक्षणमा क्लिनिकल अभ्यास गर्न पाउनेछन् । यद्यपि, बिरामीको उपचारसम्बन्धी अन्तिम क्लिनिकल निर्णय र जिम्मेवारी भने अस्पतालकै टोलीमा निहित रहनेछ ।

५. समन्वय र सहजीकरण : सामाजिक विकास मन्त्रालयले प्रशासनिक तथा व्यवस्थापकीय सहजीकरण गर्नेछ भने अस्पताल र विश्वविद्यालयबीच आइपर्ने समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

कार्यक्रममा बोल्दै मन्त्री सन्तोष शर्मा थापाले यो सम्झौता सुदूरपश्चिममा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालु शैक्षिक सत्रदेखि नै प्राज्ञिक गतिविधि सुरु गर्न आवश्यक तयारीका लागि आग्रह गर्दै प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. जोशीले यस सहकार्यबाट गुणस्तरीय क्लिनिकल शिक्षा प्रदान गर्न र प्रदेशमा अनुसन्धानमुखी स्वास्थ्य प्रणालीको विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।

सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट निमित्त प्रदेश सचिव डा. नीरज अर्याल र विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. भीमबहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सम्बन्धित चारवटै अस्पतालका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । २-० वर्षका लागि गरिएको यो सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने प्रावधान राखिएको छ ।