आइसिसी विश्वकप लिग-२

नेपाल युएईसँग पाँच विकेटले पराजित : कप्तान रोहित पौडेलको शतक ओझेलमा

काठमाडौँ, कार्तिक १३ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ५ विकेटले पराजित भएको छ। यस हारसँगै नेपालको यो शृङ्खलामा लगातार दोस्रो हार हो । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको शतकीय योगदान दिए । यस्तै, आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए। युएईका लागि जाहिद अलीले ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ विकेट हात पारे ।

२३४ रनको लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । युएईको जितमा आर्यन्श शर्माले ९८ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ९८ रनको योगदान दिए। अलिसान सराफुले ४५ र मोहम्मद वासिमले २६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ भने युएई समान खेलबाट ८ अङ्कका साथ अन्तिम स्थानमा छ ।