स्वास्थ्यकर्मीको ‘सानो स्वर्ग’ : ढोरपाटनमा फस्टाउँदै कालिजपालन व्यवसाय
बागलुङ, २८ कात्तिक । घर नजिकैको घना जङ्गलमा फलामे तारले घेरिएको एउटा सुन्दर फार्म । त्यहाँ राता, हरिया, नीला र छिर्केमिर्के रङका सयौँ कालिजहरू दौडिने, उफ्रने र उड्ने गर्छन् ।
बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलको यो ‘सानो स्वर्ग’ फार्मले धेरैलाई आकर्षित गरिरहेको छ । सात वर्षदेखि कँडेलले कालिज पालेर यसलाई व्यावसायिक रूप दिएका छन् ।
विसं २०७५ मा कँडेलले रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्न सुरु गरेका थिए । सुरुमा व्यवसायिक योजना नभए पनि पछि ठूलो सङ्ख्यामा पाल्ने चाहना जागेपछि उनको कालिजपालन व्यवसाय फस्टाउँदै गयो । २४ हजार रुपैयाँमा चारवटा कालिजबाट सुरु भएको यो व्यवसायमा कँडेलले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । दश रोपनी क्षेत्रफलमा तारबार लगाएर उनले कालिज हुर्काइरहेका छन् ।
व्यवसाय राम्रो हुँदै गएपछि कँडेलले अहिले आफ्नै ह्याचरीबाट चल्लासमेत उत्पादन गर्न थालेका छन् । वनमा मात्र पाइने कालिजलाई व्यावसायिक रूपमा पालेको देख्दा स्थानीयहरू पनि उत्साहित छन् । १२ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका कँडेल स्वास्थ्यकर्मी हुन् । बिहान र बेलुका कालिजको रेखदेख गर्ने उनी दिउँसो बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन् । सानैदेखि चराचुरुङ्गी पाल्न रुचि राख्ने कँडेलको फार्म हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्छन् ।
सात वर्षअघि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसायले राम्रो प्रगति गरेपछि कँडेल उत्साहित छन् । हाल उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन्, जसमध्ये एक हजार ५०० भन्दा बढी बिक्रीका लागि तयार भएका छन् । दसैँतिहारको अवधिमा मात्र करिब दुई सय कालिज बिक्री भएको र पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनी बताउँछन् । सुरुमा बिक्रीमा समस्या भए पनि अहिले राम्रो बजार पाएको कँडेलको भनाइ छ । प्रतिकालिज दुई हजारदेखि दुई हजार ५०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।
“यो पेसा मेरो रहरको हो,” कँडेल भन्छन्, “सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेँ । सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो ।”
केही दिनअघि चितुवा फार्ममा पसेर १५० कालिज मारिदिँदा तीन लाख रुपैयाँ नोक्सानी व्यहोरेको उनले सुनाए । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन् । उनको यो कार्यमा बुबा तुलसीराम कँडेलले पनि साथ दिएका छन् । यस वर्ष १५ लाख रुपैयाँको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए । फार्म व्यवस्थित बन्दै गएपछि माग पनि बढ्दै गएको कँडेलको भनाइ छ । चल्ला व्यवस्थापनमा सुरुमा समस्या भए पनि अहिले आफ्नै ह्याचरीबाट उत्पादन गर्न थालेको उनले बताए । उत्पादन बढ्दै गए पनि बजार पाउन भने अझै केही चुनौती रहेको उनको अनुभव छ ।