एमाले महाधिवेशन: प्राविधिक कारणले आजको मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि हुने

काठमाडौँ, १ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) हुने भनिएको मतदान स्थगित भएको छ।

दिनभरको अन्योल र प्राविधिक समस्यापछि मतदान प्रक्रिया भोलि (बुधबार) बिहान ८ बजेसम्मका लागि सारिएको हो।

निवर्तमान महासचिव शंकर पोखरेलले आजका लागि मतदान स्थगित गरिएको र भोलि बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिएका छन्।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि नै मतदानको समय तोकेको थियो। तर, विद्युतीय भोटिङ मेसिन (EVM) मा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्ने क्रममा प्राविधिक जटिलता देखिएको थियो। स्रोतका अनुसार सुरुमा उम्मेदवारहरूको नामको वर्णानुक्रम (Alphabetical order) र पछि फन्ट (Font) मा समस्या आएका कारण मेसिन तयार हुन नसकेपछि मतदान स्थगित गरिएकाे हाे ।