रसुवा बाढीका पीडितको घाउमा मलम लगाउन काठमाडौँमा नागरिक ऐक्यबद्धता र्‍याली

 

काठमाडौँ ।  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न र पीडितहरूको दुःखमा साथ दिन शनिबार काठमाडौँमा बृहत् ‘नागरिक ऐक्यबद्धता र्‍याली’ आयोजना गरिएको छ। रसुवाको विपदमा काठमाडौँ उपत्यकाबासीको साथ र सहानुभूति छ भन्ने सन्देश दिन स्थानीय नागरिकहरूको अगुवाइमा यो कार्यक्रम गरिएको हो।

ऐतिहासिक वसन्तपुरबाट सुरु भएको र्‍याली हनुमानढोका, मखन, वंगः, केलटोल, असन र कुनाटोल हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो। र्‍यालीमा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू, मानवअधिकारकर्मी र सर्वसाधारणको ठूलो उपस्थिति थियो।

विपत्तिमा सबै नेपाली एक छौँ: कार्यवाहक प्रमुख डंगोल
र्‍यालीमा ऐक्यबद्धता जनाउन पुग्नुभएकी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूगोल जहाँ भए पनि नेपालीको पीडामा सबैको मन रुने बताउनुभयो। उहाँले भन्नुभयो, “विपत्तिलाई सबै मिलेर सामना गर्नुपर्छ भन्ने सन्देश यो नागरिक र्‍यालीले दिएको छ। काठमाडौँ महानगरपालिकाले संस्थागत रूपमा खोज, उद्धार र राहतका काममा सक्रियता देखाइरहेको छ।”

डंगोलका अनुसार महानगरले एम्बुलेन्स, शववाहन परिचालन, बेपत्ताहरूको खोजी र घाइतेहरूको उपचारका लागि अस्पतालहरूमा सहजीकरण गरिरहेको छ।

विशिष्ट व्यक्तित्वहरूको सहभागिता
र्‍यालीमा पूर्वमन्त्रीहरू राजेन्द्र श्रेष्ठ र भीमसेनदास प्रधान, जनजाति अधिकारकर्मी मल्ल के. सुन्दर, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, डा. पुष्पराज राजकर्णिकार लगायतका व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। यस्तै, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापती, नेपालभाषा मंकाः खलःका अध्यक्ष रमेश पिया, न्हूँद समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर र विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरूले पनि र्‍यालीमा साथ दिएका थिए।

शान्तिवाटिकामा श्रद्धाञ्जली सभा
र्‍यालीपछि शान्तिवाटिकामा आयोजित सभामा बाढीबाट ज्यान गुमाएकाहरूको स्मृतिमा मौनधारण गरिएको थियो। मृतकहरूको प्रतीकका रूपमा राखिएको दीपमा पुष्पगुच्छा र खादा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। सभामा विभिन्न धार्मिक परम्परा अनुसार मृतकहरूको आत्माको चिरशान्तिका लागि प्रार्थना र पाठ समेत गरिएको थियो।

सहभागीहरूले विपदको यो घडीमा सरकारले उद्धार र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउनुपर्ने र नागरिकस्तरबाट पनि सहयोगको हात बढाउनुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *