देशभर मनसुन सक्रिय: ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज मुलुकका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रही ६ वटा प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णालीको पहाडी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, देशका हिमाली भू-भागका केही स्थानमा हिमपातको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।

राति पनि देशभरको मौसम बदली नै रहनेछ। विशेष गरी कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तराईका अन्य केही क्षेत्रमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘भारी वर्षा’ मानिन्छ। १०० देखि २०० मिलिमिटरलाई ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति भारी’ वर्षाका रूपमा वर्गीकरण गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *