जाजरकोटमा १८ जना कुष्ठरोगी भेटिए : उपचार प्रक्रिया सुरु
काठमाडौँ, पुस २६ । जाजरकोट जिल्लाका सातवटै स्थानीय तहमा गरी १८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सञ्चालन गरेको पछिल्लो खोज अभियानका क्रममा यी बिरामीहरू पहिचान भएका हुन् । कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार पहिचान भएका सबै बिरामीको उपचार प्रक्रिया सुरु भइसकेको छ। फेला परेका बिरामीहरूमध्ये नलगाड नगरपालिकामा ६ जना, छेडागाड नगरपालिकामा ५ जना, जुनिचाँदे गाउँपालिकामा ३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा २-२ जना रहेका छन् ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा गत पुस १७ देखि २२ गतेसम्म जिल्लाभर ‘केस भेरिफिकेशन’ कार्यक्रम सञ्चालन गरिएको थियो । कुष्ठरोगको शीघ्र पहिचान, उपचार र समुदायमा व्याप्त सामाजिक लाञ्छना न्यूनीकरण गर्ने उद्देश्यले विज्ञ टोलीसहित यो अभियान चलाइएको हो ।
अभियानका क्रममा नयाँ बिरामी पत्ता लगाउनुका साथै पहिलेदेखि उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था, औषधि सेवनको निरन्तरता र अपाङ्गता रोकथामको अवस्थाबारे समेत मूल्याङ्कन गरिएको थियो ।
जनस्वास्थ्य अधिकृत कार्कीले समाजमा अझै पनि कुष्ठरोगबारे अन्धविश्वास र सामाजिक त्रास कायम रहेकाले केही बिरामीहरू लुकेर बसेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कुष्ठरोग नियमित औषधि सेवनले पूर्ण रूपमा निको हुन्छ । औषधिको पहिलो मात्रा (डोज) सेवन गरेपछि नै यो रोग अरूमा सर्ने जोखिम निकै कम हुन्छ । समयमै उपचार गरेमा अपाङ्गता हुनबाट जोगिन सकिन्छ ।”
स्वास्थ्य कार्यालयले रोग लुकाएर नबस्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।