उम्मेदवारविरुद्ध उजुरी दिने समय आज, ३ हजार ४८६ जना मैदानमा

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार आज (बुधबार) उम्मेदवारहरूको योग्यतामाथि दाबी–विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । मंगलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

कति बजेसम्म दिन सकिन्छ उजुरी ?

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता नपुगेको खण्डमा विरोधमा उजुरी दिन सकिनेछ । उजुरी सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गएर दिनुपर्नेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । उजुरी परेपछि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई सूचना दिने र प्रमाणसहित उपस्थित हुन समय प्रदान गर्नेछन् ।

यस्तो छ निर्वाचनको आगामी कार्यतालिका:
माघ ७ (आज) दिउँसो ३ बजेदेखि माघ ८ गते ५ बजेसम्म: उजुरीमाथि जाँचबुझ र निर्णय ।
माघ ८ गते बेलुकी ५ देखि ७ बजेसम्म: उम्मेदवारको नामावली प्रकाशन ।
माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म: उम्मेदवारी फिर्ता लिने समय ।
माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्म: उम्मेदवारको अन्तिम नामावली प्रकाशन ।
माघ ९ गते बेलुकी ४ देखि ७ बजेसम्म: उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान ।

कूल ३,४८६ जनाको उम्मेदवारी
आयोगको पछिल्लो तथ्याङ्क अनुसार देशभरबाट कूल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन् ।

मंगलबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएपछि आज उम्मेदवारको योग्यतामाथि छानबिन प्रक्रिया अघि बढेको हो । उजुरी परेका उम्मेदवारको हकमा आवश्यक प्रमाण पुगेमा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द समेत गर्न सक्ने प्रावधान रहेको छ ।