‘द फल अफ इकारस’: सूर्यको अगाडि मानिसको छाया देखिने त्यो अद्भुत तस्बिर कसरी खिचियो?

 

एरिजोना (अमेरिका) । अमेरिकाको एरिजोनामा रहेको सबैभन्दा ठूलो सुक्खा ताल ‘विल्कोक्स प्लाया’ मा उभिएर एस्ट्रोफोटोग्राफर एन्ड्रयु म्याकार्थी महिनौंको तयारीपछि एउटा विशेष तस्बिर खिच्ने प्रयास गरिरहेका थिए। नजिकैबाट गुड्ने मालवाहक रेलको कम्पनले तस्बिर धमिलो बनाउने जोखिम उत्तिकै थियो। गत महिनाको एक बिहान म्याकार्थीको वरिपरि जम्मा भएको भीड तनावपूर्ण सन्नाटामा थियो, किनकि जहाज आकाशमा ६ पटक घुम्दा पनि उनले चाहेजस्तो ‘परफेक्ट सट’ लिन सकिरहेका थिएनन्।

उता आकाशमा, म्याकार्थीका साथी ग्याब्रियल सी. ब्राउन जहाजको छेउमा बसेर हामफाल्ने संकेत पर्खिरहेका थिए। ब्राउनले भने, “सुरुमा हामीले सोचेका थियौं– यदि पहिलो प्रयास बिग्रियो भने म ल्यान्ड गर्छु, प्यारासुट प्याक गर्छु र फेरि माथि गएर प्रयास गर्छु।”

तर, पाइलटले आफू त्यो बिहान मात्र उपलब्ध हुन सक्ने बताएपछि योजनामा तनाव थपियो। सूर्य माथि चढ्नु अघि र प्रकाश बिग्रनु अघि अब उनीहरूसँग सही सट लिनका लागि मात्र एक मौका बाँकी थियो। म्याकार्थीले अन्तिम काउन्टडाउन सुरु गरे।

सीमित समयको दबाबका बीच ब्राउनले म्याकार्थीलाई भने, “तपाईं पूर्ण रूपमा पक्का नभएसम्म मलाई हामफाल्न नभन्नुहोला।”

अन्ततः समय आयो। म्याकार्थीले काउन्टडाउन गरे, “थ्री, टु, वन, गो!”

ब्राउन आकाशबाट खस्दै गर्दा आफ्नो हेडसेटमार्फत म्याकार्थीलाई सोधे, “के तस्बिर खिचियो?”

र अन्ततः म्याकार्थी सफल भए। सूर्यको टेक्चरयुक्त विशाल सतहको अगाडि एक मानव आकृतिको छाया (सिल्हूट) टक्क अडिएजस्तो देखिने तस्बिर कैद भयो। “यो एकदम परफेक्ट थियो,” सफल प्रयासपछि म्याकार्थीले भने, “हामीले केही विशेष कुरा प्राप्त गर्यौं भन्ने हामीलाई तुरुन्तै महसुस भयो।”

एउटा साहसिक छलाङ
बाल्यकालमा म्याकार्थीको कोठा अन्तरिक्षका खेलौना र चम्किने ग्रहहरूले भरिएको हुन्थ्यो। सात वर्षको उमेरमा उनी बुवासँग घरको बगैंचामा गएर टेलिस्कोपबाट शनि र बृहस्पति ग्रह हेर्थे।

वर्षौंपछि, जब म्याकार्थी आफूलाई “बोरिङ डेस्क जब” गरिरहेको वयस्क ठान्थे, उनले एउटा अर्को टेलिस्कोप किन्ने निर्णय गरे। फेरि आकाशतिर हेर्दा उनलाई ब्रह्माण्डको तुलनामा आफू एकदमै सानो तर महत्त्वपूर्ण भएको महसुस भयो। “म ब्रह्माण्डको एउटा यस्तो अंश हुँ जो ब्रह्माण्डकै सुन्दरताको प्रशंसा गर्न सक्षम छ,” उनले भने। यही अनुभव अरूलाई बाँड्न उनले सुरुमा आइफोनबाट धमिलो तस्बिर खिचे, र बिस्तारै यसलाई आफ्नो करियर नै बनाउने निधो गरे।

 

असम्भव लाग्ने तस्बिरको परिकल्पना
६ वर्षसम्म म्याकार्थीका प्रोजेक्टहरू जटिल बन्दै गए। सूर्यको अगाडि रकेटको तस्बिर खिचेपछि उनले नयाँ चुनौती खोजे। पहिलो पटक ‘स्काइ डाइभिङ’ गरेपछि उनलाई नयाँ आइडिया आयो र उनले अनुभवी स्काइ डाइभर ब्राउनसँग सहकार्य गर्ने निर्णय गरे।

“हामीले भर्खरै स्काइ डाइभिङ सकेका थियौं, अनि दिमागमा बत्ती बल्यो– यदि कोही सूर्यको अगाडि प्लेनबाट हामफाल्यो भने कस्तो देखिएला?” म्याकार्थीले सुनाए।

यो सुन्दा असम्भव जस्तै थियो। सही सटका लागि सूर्य तल्लो विन्दुमा, जम्पर माथि र म्याकार्थी सही स्थानमा (एकदमै सिधा रेखामा) हुनुपर्थ्यो। जब पाइलटले जहाजलाई सूर्य र क्यामराको बीचमा सही स्थानमा पुर्‍याए, जमिनमा रहेका टेलिस्कोपहरूले ऐनाजस्तै काम गरेर सूर्यको किरण टल्काए, जुन पाइलटको लागि “पोजिसन मिल्यो” भन्ने संकेत थियो।

नाम जुराइयो: ‘द फल अफ इकारस’
म्याकार्थीका अनुसार तस्बिरको नामले कुनै दुखद घटना होइन, बरु हाम्रो सानो अस्तित्वको तुलनामा प्रकृतिको विशाल शक्तिलाई जनाउँछ। सूर्य एउटा यस्तो शक्ति हो जसलाई हामी नियन्त्रण गर्न सक्दैनौं।

ग्रीक किंवदन्ती अनुसार, इकारस नामका युवकले मैन र प्वाँखले बनेको पखेटा लगाएर उड्दा बुवाको चेतावनी बिर्सेर सूर्यको धेरै नजिक पुगेका थिए। सूर्यको तापले मैन पग्लिएपछि उनी समुद्रमा खसे। यो तस्बिरले मानवीय महत्त्वाकांक्षा र हाम्रा सीमाहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। ब्राउन भन्छन्, “यो तस्बिर मानव उपलब्धिको प्रमाण हो, साथै मानवीय घमण्डको पनि।”

यो ‘एआई’ होइन भन्ने प्रमाण
अर्का एस्ट्रोफोटोग्राफर कोनर म्याथर्नले यो तस्बिर देख्नेबित्तिकै भने, “उसले फेरि कमाल गर्यो। यो तस्बिरले साँच्चिकै सीमा नाघेको छ।”

तर, म्याकार्थीलाई थाहा थियो कि आर्टिफिसियल इन्टेलिजेन्स (AI) को जमानामा धेरैले यसको वास्तविकतामाथि प्रश्न उठाउनेछन्। सार्वजनिक शंकालाई पहिल्यै अनुमान गर्दै म्याकार्थीले तयारी र सट लिँदाको ‘बिहाइन्ड द सिन’ भिडियो पनि खिचेका थिए। उनले तस्बिरलाई स्पष्ट बनाउन र ‘नोइज’ हटाउन हजारौं फ्रेमहरू जोडेर (Image stacking) यो तस्बिर तयार पारेको प्राविधिक पक्ष पनि सार्वजनिक गरे।

“एउटा तस्बिरमा ४० घण्टा बिताएपछि मानिसहरूले यसलाई ‘फेक’ वा नक्कली भन्दा निराशा हुन्छ,” म्याथर्नले भने। तर म्याकार्थी र उनका साथीहरूका लागि ब्रह्माण्डको लुकेको सुन्दरता देखाउने वास्तविक पलहरू कैद गर्नु नै सबैभन्दा ठूलो खुसी हो।(सीएनएन न्यूज ऐजन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *