सार्वजनिक जग्गा संरक्षण र व्यवस्थापनमा कार्यवाहक प्रमुख डंगोलको नेतृत्व : मनोहरा आयोजना सुल्झाउन सक्रिय
काठमाडौँ, वैशाख १७ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र सहरी व्यवस्थापनलाई आफ्नो संस्थागत जिम्मेवारीको रूपमा अघि बढाउँदै मनोहरा जग्गा एकीकरण आयोजनाको वर्षौँदेखिको जटिलता सुल्झाउन निर्णायक पहल सुरु गरेको छ। नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गालाई कानुनी र प्राविधिक रूपमा साविककै स्थानमा कायम गराउन तथा नदी किनाराको जमिनलाई संरक्षण गर्न कार्यवाहक प्रमुख सुनिता डंगोलले उच्चस्तरीय प्रशासनिक र प्राविधिक नेतृत्व लिनुभएको हो। ‘शिक्षा र पूर्वाधार जस्तै सार्वजनिक जग्गाको सुरक्षा पनि महानगरको प्राथमिक दायित्व हो’ भन्ने सङ्कल्पका साथ उहाँले आयोजनालाई निष्कर्षमा पुर्याउन कर्मचारी संयन्त्रलाई परिचालन गर्नुभएको छ।
महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार नदीलाई २०२१ सालको नापी नक्साबमोजिमकै बहाव क्षेत्रमा फर्काउन कार्यवाहक प्रमुख डंगोलले गृहकार्य तीव्र बनाउनुभएको हो। हाल नदी पश्चिमतर्फ सर्दा काठमाडौँतर्फको करिब १०० रोपनी जग्गा भक्तपुरतर्फ र भक्तपुरतर्फको १५ रोपनी जग्गा काठमाडौँतर्फ पुगेको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र आयोजना प्रमुख निर्मलराज बरालसँगको परामर्शका क्रममा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “नदी किनाराका संरचना हटाउने काम सकिएसँगै अब आयोजनालाई चाँडो सम्पन्न गर्नु हाम्रो मुख्य जिम्मेवारी हो। यसका लागि लागत अनुमान र जनशक्ति परिचालन योजना तत्काल तयार पारी कार्यान्वयनमा लैजानुहोस्।”
उहाँले केवल जग्गा फिर्ता ल्याउने मात्र नभई, मानवीय संवेदनालाई ध्यान दिँदै वास्तविक भूमिहीनहरूको पहिचान र उचित व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको छ। खाली गराइएका स्थानहरूमा पुनः अतिक्रमण हुन नदिन तत्काल तारबार गर्ने र ती क्षेत्रलाई महानगरको प्रत्यक्ष रेखदेखमा राख्ने गरी संस्थागत प्रक्रिया अगाडि बढाइएको छ।
आयोजना प्रमुख बरालका अनुसार, नदीले धार परिवर्तन गरेको खण्डमा यसअघि रहेका पक्की तथा अस्थायी संरचनाहरू हटाइसकिएको छ र अब ‘रिप्लटिङ’ मार्फत जग्गाधनीहरूलाई न्याय दिने प्रक्रिया महानगरको नेतृत्वमा अघि बढ्नेछ।