काठमाडौँ उपत्यकामा आज शैक्षिक हड्ताल : विद्यालय खुल्ने-नखुल्नेमा अन्योल
काठमाडौँ, पुस ७ । नेकपा जनपक्ष पार्टी निकट जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग राख्दै आज काठमाडौँ उपत्यकामा ‘शैक्षिक हड्ताल’को घोषणा गरेको छ । हड्तालको आह्वानसँगै उपत्यकाका विद्यालय र क्याम्पसहरूको पठनपाठन आज प्रभावित हुने देखिएको छ भने विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् ।
युनियनले निजी विद्यालयहरूले लिँदै आएको मासिक शुल्कमा तत्काल ५० प्रतिशत कटौती गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ । “शिक्षामा व्यापारिकरण अन्त्य हुनुपर्छ र साधारण नागरिकका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,” युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शुल्क कटौतीका अतिरिक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी र श्रमिकहरूलाई आगामी निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने र शिक्षामा सबैको निःशुल्क पहुँच हुनुपर्ने जस्ता १८ बुँदे माग अघि सारेको छ ।
हड्तालको घोषणापछि आज बिहानैदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका शैक्षिक संस्थाहरूमा अन्योल देखिएको छ । कतिपय विद्यालयहरूले सुरक्षालाई ध्यानमा राख्दै बिहानै सूचना जारी गरी पठनपाठन बन्द गराएका छन् भने कतिपय विद्यालयमा विद्यार्थीहरू पुगेर पनि घर फर्कनुपर्ने अवस्था सिर्जना भएको छ ।
निजी विद्यालय सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन र एनप्याब्सनले भने हालसम्म शैक्षिक हड्तालबारे कुनै आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् । सङ्गठनहरूले विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे ठोस निर्देशन नदिँदा विद्यालय प्रशासन र अभिभावकबीच संवादको अभाव देखिएको छ । विद्यालय सञ्चालकहरूले भने विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न र वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रशासनले शैक्षिक संस्थाहरूमा हुन सक्ने सम्भावित अवरोधलाई मध्यनजर गरी सुरक्षाकर्मीको उपस्थिति बढाएको जनाएको छ ।