निर्वाचन सुरक्षाका लागि पर्सामा ‘अति संवेदनशील’ मतदानस्थलको अनुगमन, भारतीय गाडी प्रयोगमा रोक

वीरगञ्ज (पर्सा), २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी पर्सामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन मतदानस्थलहरूको निरीक्षण र सुरक्षा रणनीति निर्माणको कामलाई अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको टोलीले जिल्लाका १६७ मतदानस्थलमध्ये हालसम्म ६० वटाको स्थलगत अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा सुरक्षा चुनौतीको पहिचान गरी सोहीअनुसारको विशेष रणनीति तय भइरहेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाउने स्पष्ट पार्नुभएको छ । “निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “सोतर्फ उम्मेदवारहरूले सचेत हुन जरुरी छ ।” भारतसँग १०७ किलोमिटर खुल्ला सीमा जोडिएको जिल्ला भएकाले निर्वाचनका बेला सीमा सुरक्षा र आचारसंहिता पालनामा विशेष ध्यान दिइने प्रशासनले जनाएको छ ।

सुरक्षा समितिले जिल्लाका १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ । यस्तै, ८५ वटा ‘संवेदनशील’ र २० वटा ‘कम संवेदनशील’को सूचीमा छन् । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल रहेका छन् । जिल्लाभर ४४१ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहनेछन् ।

पर्सामा कुल मतदाताको सङ्ख्या ३ लाख ७६ हजार ५१३ रहेको छ । जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

प्रहरी प्रमुख सुदिपराज पाठकले जिल्लामा शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको बताउँदै मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना गरिने प्रतिबद्धता जनाउनुभयो ।