समानुपातिक सांसदको नाम टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै, निर्वाचनको समीक्षा पनि गरिने

काठमाडौँ, ३० फागुन । नेकपा (एमाले) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न र समानुपातिकतर्फका सांसदहरूको नामावली टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १:०० बजे बैठक बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा मुख्य गरी दुईवटा कार्यसूचीमाथि छलफल हुने उहाँले बताउनुभयो ।

बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत एमालेले प्राप्त गरेको सिट सङ्ख्याअनुसार निर्वाचित हुने उम्मेदवारहरूको नाम टुङ्गो लगाउनेछ । निर्वाचन आयोगले तोकेको क्लस्टर र समावेशी सिद्धान्तका आधारमा बन्दसूचीमा रहेका नामहरूमध्येबाट सांसदहरूको चयन गरिनेछ ।

यसैगरी, बैठकमा हालै सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा, जित–हारका कारण र समग्र चुनावी प्रक्रियाका बारेमा प्रारम्भिक समीक्षा समेत गरिने कार्यसूची रहेको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आजसम्मको समयसीमा तोकेको छ । सोही संवैधानिक र कानुनी व्यवस्थाअनुसार एमालेले आजै नामावली चयन गरी आयोगमा बुझाउने तयारी गरेको हो ।

समानुपातिकतर्फको सिट बाँडफाँटमा रास्वपापछि दोस्रो र तेस्रो स्थानमा रहेका ठूला दलहरूमा कांग्रेस र एमाले रहेका छन् । एमालेले आफ्नो हिस्सामा परेका सिटहरूमा उम्मेदवारको अन्तिम नामावली टुङ्गो लगाएपछि निर्वाचन परिणामले पूर्णता पाउनेछ ।