‘लालीबजार’ मा फरक भूमिकामा देखिँदै स्वस्तिमा खड्का : १० वर्षे करिअरमा पहिलोपटक दिइन् ‘अडिसन’
काठमाडौँ, चैत ५ । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो आगामी चलचित्र ‘लालीबजार’ मा हालसम्मकै भिन्न र चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन्। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक टिजर र गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
अभिनय यात्राको एक दशक पार गरेकी खड्काले यस चलचित्रका लागि आफूले पहिलोपटक ‘अडिसन’ दिएको खुलासा गरिन्। निर्माण समूह ‘षट्कोण आर्ट्स’ प्रतिको विश्वास र चलचित्रको गम्भीर विषयवस्तुका कारण आफू अडिसनमार्फत अनुबन्धित भएको उनको भनाइ छ ।
आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री खड्काले भनिन्, “लालीबजारमा मैले एउटा अभिनेत्रीका रूपमा सोचेजस्तो काम गर्ने अवसर पाएकी छु । यो विषयवस्तु र मेरो भूमिका हालसम्मका कामभन्दा निकै भिन्न र चुनौतीपूर्ण छ। चलचित्र प्रदर्शनमा आएपछि दर्शकले मेरो चरित्रको गहिराइ बुझ्नुहुनेछ ।”
खड्काले यस चलचित्रमा यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छिन्। आगामी वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा स्वस्तिमाका साथै रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय रहेको छ।
यम थापाको निर्देशन रहेको ‘लालीबजार’ को पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्। दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गरेको यो चलचित्रलाई लिएर चलचित्र वृत्तमा निकै प्रतीक्षा गरिएको छ ।