राहदानी आवेदकलाई तोकिएकै मिति र समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं, २४ भदौ । राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

नयाँ राहदानी प्रणाली सुरु भएयता आमसेवाग्राहीलाई निरन्तर सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको चाप बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्‍याउन विभागले आज यस्तो अनुरोध गरेको हो। साथै हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतारमा नआई आवेदन प्रक्रिया अघि बढाउन समेत विभागले आग्रह गरेको छ।

विभागका अनुसार २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ। यसैलाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई आफ्नो नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमै गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न विभागले पुनः आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *