आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे परराष्ट्र मन्त्रालयको भर्चुअल छलफल

काठमाडौँ,  वैशाख ४ । परराष्ट्र मन्त्रालयले पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरूसँग आर्थिक कूटनीति र सेवा प्रवाहमा सुधार ल्याउने विषयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । उहाँले सोही लक्ष्य अनुरूप आफ्ना गतिविधिहरू सञ्चालन गर्न नियोगहरूलाई निर्देशन दिँदै नवप्रवर्तन र डिजिटल प्रविधिको उच्चतम प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी, परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आर्थिक कूटनीति प्रवर्द्धन गर्न र प्रविधिको उपयोगमार्फत कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छलफलका क्रममा सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले ती देशको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँहरूले नेपाली नागरिकको सुरक्षा स्थिति, सेवा प्रवाहको विद्यमान अवस्था, समस्या समाधानका लागि अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताका विषयमा विस्तृत विवरण प्रस्तुत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।