मुस्ताङमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि : चार महिनामा ८३ हजारभन्दा बढीद्वारा भ्रमण
काठमाडौँ, बैशाख २२ । हिमाली जिल्ला मुस्ताङमा सन् २०२६ को पहिलो चार महिनामा विदेशी पर्यटकको आगमनमा ठूलो वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अप्रिलसम्म ८३ हजार १४९ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा ३१ हजार २५३ ले बढी हो । गत वर्ष सन् २०२५ को पहिलो चार महिनामा ५१ हजार ८९६ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
तुलनात्मक तथ्याङ्क
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार सन् २०२६ को अप्रिल महिनामा मात्रै सबैभन्दा बढी ४० हजार १३८ पर्यटक मुस्ताङ भित्रिएका छन्। यसैगरी, मार्चमा २३ हजार २०४, फेब्रुअरीमा ९ हजार ४ र जनवरीमा १० हजार ८०३ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
गत वर्ष (सन् २०२५) को सोही अवधिमा जनवरीमा ४ हजार ३४६, फेब्रुअरीमा ५ हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ पर्यटक आएका थिए ।
भारतीय पर्यटकको बाहुल्य
मुस्ताङ भ्रमण गर्ने कुल विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय नागरिक रहेको कार्यालयले जनाएको छ। भारतीय पर्यटकहरूमध्ये अधिकांशको मुख्य उद्देश्य प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नु रहेको पाइएको छ ।
त्यस्तै, सार्क क्षेत्र बाहिरका तेस्रो मुलुकका पर्यटकहरू भने पोखरा-जोमसोम हवाई मार्ग तथा सडक मार्ग हुँदै उपल्लो मुस्ताङको पदयात्रामा जाने गरेका छन्। यातायातको सहजता र धार्मिक तथा प्राकृतिक पर्यटकीय आकर्षणका कारण पछिल्लो समय मुस्ताङमा पर्यटकको चाप बढ्दै गएको देखिन्छ ।