पर्यटकका लागि ‘डिजिटल’ सुविधा: अब विदेशी सवारीको इजाजत र राजस्व भुक्तानी अनलाइनबाटै

काठमाडौँ, २२ वैशाख । सरकारले स्थलमार्ग भएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका पर्यटकहरूका लागि ठूलो राहत पुग्ने गरी ‘अनलाइन’ सेवा सुरु गरेको छ । अब विदेशी सवारीसाधन लिएर नेपाल घुम्न आउने पर्यटकले सीमा नाकामा लाइन बस्नुपर्ने र भौतिक रूपमा कागजी प्रक्रिया मिलाउनुपर्ने झन्झट अन्त्य भएको छ ।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विकास गरेको यस ‘अस्थायी सवारी आयात (TIV)’ मोड्युलको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । नयाँ प्रणाली सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुकका पर्यटकले आफ्नै घरबाट सवारीको विवरण भर्न र राजस्व भुक्तानी गर्न सक्नेछन् ।
प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “सरकारले अघि सारेको सुशासन र छरितो सार्वजनिक सेवा दिने प्रतिबद्धता अनुरूप यो कार्य सुरु गरिएको हो । अब सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती हट्नेछ र सरकारी सेवा थप पारदर्शी हुनेछ ।”

भन्सार विभागका अनुसार पर्यटकले विभागको वेबसाइटमा गएर ‘हाम्रा सेवाहरू’ भित्र रहेको ‘TIV’ शीर्षकमा क्लिक गरी विवरण भर्नुपर्नेछ ।
अनलाइन घोषणा: पर्यटकले आफ्नो सवारीको विवरण आफैँले अनलाइनमा भर्न सक्नेछन् ।
राजस्व भुक्तानी: तोकिएको राजस्व अनलाइनमार्फत वा बैंक काउन्टरबाट तिर्न सकिनेछ ।
क्यूआर कोड (QR Code): राजस्व तिरेपछि पर्यटकको इमेलमा एउटा क्यूआर कोड प्राप्त हुनेछ ।
झन्झटमुक्त प्रवेश: सीमा नाकामा भन्सार अधिकारीलाई उक्त क्यूआर कोड देखाएपछि सवारीले नेपाल प्रवेश पाउनेछन् ।

यसअघि सवारीको यात्रा अवधि सकिएमा नवीकरणका लागि पुनः भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता थियो । अब भने नेपालको कुनै पनि स्थानमा रहेर अनलाइनमार्फत नै यात्रा अवधि थप (नवीकरण) गर्न सकिने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

भन्सार विभागका अनुसार तत्कालका लागि यो सेवा भारत र बङ्गलादेशबाट स्थलमार्ग हुँदै आउने पर्यटकहरूका लागि निकै प्रभावकारी हुनेछ । चिनियाँ नाकाबाट सवारी लिएर आउने पर्यटकका हकमा पनि यो प्रणाली लागू हुने विभागले स्पष्ट पारेको छ ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) अन्तर्गत विकास गरिएको यो डिजिटल सेवाले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र पर्यटकको नेपाल बसाई थप सुखद हुने अपेक्षा गरिएको छ ।