कोशी, मधेस र बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, २३ वैशाख । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । जसका कारण मुलुकका अधिकांश भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायतका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मौसम साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार यी पाँचवटै प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न र दैनिक जनजीवनमा पर्न सक्ने असरप्रति सचेत रहन मौसमविद्हरूले सुझाएका छन् ।