वर्षासंगै ठप्प भएका कान्ति लोकपथ र अरनिको राजमार्ग सुचारु, बीपी र मध्यपहाडी लोकमार्ग कतै एकतर्फी त कतै ठप्प

काठमाडौँ, २३ वैशाख । केही दिनदेखिको निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न मुख्य राजमार्गहरू मङ्गलबार साँझदेखि क्रमशः सुचारु हुन थालेका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा खुलेका छन् भने कतिपय स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार पहिरो पन्छाएपछि निम्न सडकखण्डमा दुईतर्फी यातायात सुरु भएको छ ।

कान्ति लोकपथ: ललितपुरको बागमती गाउँपालिका–३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा खसेको पहिरो हटाएपछि सडक खुलेको छ।
अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकुमा गएको पहिरो सफा गरेपछि यातायात सुचारु भएको छ।
ताप्लेजुङ: मेरिङदेन गाउँपालिकाको थुकिम्बा–दोभान भित्री सडकखण्ड पनि सञ्चालनमा आएको छ।

केही ठूला राजमार्गमा भने अझै पनि जोखिम कायम छ। भोजपुर नगरपालिकाको बोखिमस्थित मध्यपहाडी लोकमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड (जलथले) मा हाल एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। यसैगरी, निम्न सडकहरू अझै पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्:

बीपी राजमार्ग: काभ्रेपलाञ्चोकको नमोबुद्ध–६ चौकीडाँडा र रोशी–७ घुमाउने (४०० बेँसी) मा बाढी र पहिरोले सडक ठप्प छ।
मध्यपहाडी लोकमार्ग (लमजुङ): मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा सडक अवरुद्ध छ।
इलाम–झापा सडक: रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडकमा यातायात बन्द छ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी खण्डमा जोखिम बढेकाले सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्रै निस्कन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।