म्याग्दीको बिम र डाँडागाउँमा पक्की पदमार्ग निर्माण : फेरियो गाउँको स्वरूप, स्थानीयलाई सहजता
काठमाडौँ, जेठ ६ । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित बिम र डाँडागाउँका कच्ची पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरण तथा आवतजावतलाई व्यवस्थित बनाउने उद्देश्यले बस्तीभित्रका कच्ची मार्गहरूलाई ढलान गरी स्तरोन्नति गरिएको हो ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित यस योजनाले गाउँको मुहार फेरेको छ । पदमार्ग निर्माण भएसँगै वर्षायाममा हुने हिलो र हिउँदको धुलोको समस्या समाधान भएको छ भने गाउँ थप सफा र सुग्घर देखिएको छ । स्थानीय बासिन्दा मङ्गली पुनका अनुसार पक्की पदमार्ग बनेपछि उकालो-ओरालोमा हिँड्न, भारी बोक्न र चिप्लिने जोखिमबाट मुक्ति मिलेको छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरूलाई यसबाट ठुलो राहत पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको यो योजनालाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो । पदमार्ग १.१० देखि १.२० मिटर चौडा रहेको छ, जहाँ मोटरसाइकल र साइकल समेत सहजै चलाउन सकिन्छ। निर्माणका क्रममा तेर्सो भागमा ढुङ्गा बिछ्याइएको छ भने उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।
पर्यटन र आगामी योजना
बिम र डाँडागाउँ धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मालिका र प्रभु चेला धुरीको फेदीमा अवस्थित छन् । यहाँबाट गुर्जा हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटक तथा भक्तजनहरूको समेत बाक्लो उपस्थिति रहने गर्दछ ।
गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले गाउँलाई सरसफाइको नमुना बनाउन पदमार्ग निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खारा-बिम सडक स्तरोन्नति योजना अन्तर्गत आगामी दिनमा बस्तीभित्रका सडकलाई कालोपत्र गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।
यो पदमार्ग निर्माणबाट बिम र डाँडागाउँका करिब २०० भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।