देशैभर नयाँ सार्वजनिक सवारीको दर्ता रोकियो, ईभीमा पनि प्रतिबन्ध
काठमाडौँ, ८ जेठ । सरकारले मुलुकभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रियामा पूर्ण रूपमा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारीको दर्ता नगर्न निर्देशन दिएको हो ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढेको, सडकमा सवारीको चापले ट्राफिक जाम भयावह बनेको र आवतजावतमा कठिनाइ थपिएकाले यस्तो निर्णय लिनुपरेको विभागको दाबी छ । साथै, इन्धनको बढ्दो मूल्यका कारण यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई मध्यनजर गर्दै नयाँ सवारी थप्नुभन्दा मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने आवश्यकता पत्रमा औँल्याइएको छ ।
विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) ले दिएको विशेष अधिकार प्रयोग गरी यो निर्णय गरेको जनाएको छ । उक्त कानुनी प्रावधानमा वातावरणीय प्रदूषण, सवारीको चाप, सडकको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न सक्ने व्यवस्था छ ।
सरकारको यो निर्णयले पछिल्लो समय प्रोत्साहन पाइरहेका विद्युतीय सवारी (ईभी) लाई समेत समेटेको छ । विभागका अनुसार सार्वजनिक प्रयोजनका लागि दर्ता हुने ईभीका हकमा समेत यो प्रतिबन्ध लागू हुनेछ ।
पछिल्लो समय सहरी क्षेत्रमा सार्वजनिक सवारीको सङ्ख्या बढे पनि सेवाको गुणस्तर र व्यवस्थापनमा प्रश्न उठ्दै आएको छ । विभागको यो कदमले यातायात व्यवसायी र नयाँ लगानीकर्ताहरूमा भने तरङ्ग पैदा गरेको छ । विभागले अर्को व्यवस्था नभएसम्मका लागि यो निर्णय कडाइका साथ पालना गर्न मातहतका निकायलाई आग्रह गरेको छ ।