विश्वकै ठूलो आईपीओ: १.७५ ट्रिलियन डलरको मुल्याङ्कनका साथ ‘स्पेसएक्स’ सेयर बजारमा आउँदै
न्यूयोर्क, ७ जेठ । अन्तरिक्ष प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएको एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले सार्वजनिक निष्कासन को लागि दस्ताबेज सार्वजनिक गरेको छ। यो आईपीओ सफल भएमा कम्पनीको कूल बजार मुल्याङ्कन १.७५ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ, जुन कर्पोरेट इतिहासकै नयाँ रेकर्ड हुनेछ।
यस ऐतिहासिक मुल्याङ्कनसँगै कम्पनीका संस्थापक एलन मस्क इतिहासकै पहिलो ‘ट्रिलियनायर’ बन्ने बाटो खुल्नेछ। टेस्लापछि १ ट्रिलियन डलरको मुल्याङ्कन नाघ्ने मस्कको यो दोस्रो कम्पनी हुनेछ।
स्टारलिङ्क र रकेट प्रविधिको सफलता
सन् २००२ मा स्थापना भएको स्पेसएक्सले ‘पुन: प्रयोग गर्न मिल्ने रकेट’ को विकास गरी अन्तरिक्ष यात्राको लागत घटाउन सफल भएको छ। कम्पनीको मुख्य आम्दानीको स्रोत ‘स्टारलिङ्क’ इन्टरनेट सेवा हो। हाल अन्तरिक्षमा स्पेसएक्सका करिब १०,००० उपग्रहहरू रहेका छन्, जसले गत वर्ष मात्र १८.६७ अर्ब डलर राजस्व संकलन गरेको थियो।
जेफ बेजोसको ‘ब्लु ओरिजिन’ जस्ता प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्दै स्पेसएक्सले सरकारी र व्यावसायिक ठेक्काहरूमा आफ्नो वर्चस्व कायम गरेको छ।
मंगल ग्रह र एआई मा भविष्य
स्पेसएक्सको भविष्य केवल रकेट प्रक्षेपणमा मात्र सीमित छैन। कम्पनीले मंगल ग्रहमा मानव बस्ती बसाउने र अन्तरिक्षमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) डेटा सेन्टरहरू निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। कम्पनीको पछिल्लो वित्तीय दस्ताबेज अनुसार, यसको कुल सम्भावित बजार २८.५ ट्रिलियन डलर रहेको छ, जसमध्ये ठूलो हिस्सा एआई पूर्वाधारसँग जोडिएको छ।
यद्यपि, कम्पनीको एआई युनिट ‘xAI’ भने हाल घाटामा रहेको बताइएको छ। मस्कले हालै स्पेसएक्स र xAI बीच मर्जर (एकीकरण) समेत गरेका छन्।
आईपीओको विवरण र चुनौती
स्पेसएक्सको यो आईपीओले सन् २०१९ मा साउदी अरामकोले राखेको १.७ ट्रिलियन डलरको विश्व रेकर्डलाई तोड्नेछ। कम्पनी आगामी जुन ११ मा सेयर बिक्री खुला गर्ने र जुन १२ मा ‘नास्डाक’ (Nasdaq) स्टक एक्सचेन्जमा सूचीकृत हुने तयारीमा छ। यसको सेयर संकेत ‘SPCX’ रहनेछ।
गोल्डम्यान स्याक्स, मोर्गन स्टेनली र जेपी मोर्गन जस्ता विश्वका ठूला बैंकहरूले यस आईपीओको व्यवस्थापन गर्नेछन्।
लगानीकर्ताको चासो र संशय
विश्लेषकहरूका अनुसार धेरै लगानीकर्ताहरू कम्पनीको व्यापारिक आधारभन्दा पनि एलन मस्कको व्यक्तित्व र ‘सेलिब्रेटी छवि’का कारण आकर्षित छन्। तर, मस्कले टेस्ला, एक्स (ट्विटर), र न्यूरालिङ्क जस्ता धेरै कम्पनीहरू एकसाथ चलाइरहेकाले उनले स्पेसएक्सलाई पर्याप्त समय दिन सक्ने हुन् कि होइनन् भन्नेमा केही लगानीकर्ताहरू सशंकित छन्।
कम्पनीले यस आईपीओको निश्चित हिस्सा सर्वसाधारण का लागि पनि छुट्याउने योजना बनाएको छ। यो आईपीओसँगै प्रविधि क्षेत्रका अन्य ठूला कम्पनीहरू ओपेन एआई र एन्थ्रोपिक लाई पनि सार्वजनिक बजारमा आउन बाटो खुल्ने अपेक्षा गरिएको छ।