सडक सीमा अतिक्रमण गरी निर्मित संरचना हटाउन १५ दिने अल्टिमेटम
काठमाडौँ, जेठ ८ । सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा सीमा अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
सार्वजनिक सडक ऐन, २०३१ को बर्खिलाप हुने गरी सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा र पर्खाललगायतका संरचना हटाउन कार्यालयले निर्देशन दिएको हो। सडक सीमा मिचेर संरचना बनाउँदा सवारी आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर जोखिम बढेको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र त्यस्ता संरचना हटाउन अनुरोध गरेको छ।
कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार, तोकिएको समयसीमाभित्र संरचना नहटाएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ। साथै, कार्यालयले ती संरचना भत्काउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने व्यहोरा स्पष्ट पारेको छ।
अतिक्रमण भएका मुख्य सडक खण्डहरू
डिभिजन कार्यालयका अनुसार देहायका सडक खण्डहरूमा सीमा अतिक्रमण भएको पाइएको छ । पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडक खण्ड, सहिदमार्गको कोइलावास-लमही-घोराही सडकखण्ड, राप्ती राजमार्गको अमेलिया-तुलसीपुर-सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको गढवा-राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी-खलङ्गा-बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी-घोराही-तुलसीपुर-काल्चे सडकखण्ड, भालुबाङ-गनाहा सडकखण्ड, रारा राजमार्गको थारमारे-चौरजहारी सडकखण्ड अतिक्रमण भएको पाइएको छ ।
सडक सुरक्षा र विस्तारलाई व्यवस्थित बनाउन डिभिजन कार्यालयले यस कदमलाई कडाइका साथ लागू गर्ने जनाएको छ।