उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन खामेनीको निर्देशन, इरान–अमेरिका वार्ता झन् सङ्कटमा
एजेन्सी, ८ जेठ । इरान र अमेरिकाबीच जारी शान्ति वार्ताको सबैभन्दा पेचिलो विषय मानिएको ‘उच्च प्रशोधित युरेनियम’ को भविष्यका सम्बन्धमा इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले कडा निर्देशन दिनुभएको छ । उहाँले देशमा रहेको युरेनियमको भण्डार कुनै पनि हालतमा देशबाहिर नपठाउन मातहतका निकायलाई आदेश दिनुभएको हो ।
सर्वोच्च नेताको यस कदमले लामो समयदेखि अवरुद्ध र जटिल बन्दै गएको इरान–अमेरिका वार्तालाई थप अन्योल र सङ्कटमा धकेल्ने देखिएको छ ।
के हो विवादको चुरो ?
इरानसँग हाल झण्डै ४०० किलो उच्च प्रशोधित युरेनियम रहेको बताइन्छ । अमेरिका र इजरायलले यो भण्डार इरानको आणविक हतियार बनाउने महत्त्वाकाङ्क्षासँग जोडिएको भन्दै यसलाई पूर्ण रूपमा नष्ट गर्नुपर्ने वा तेहरानभन्दा बाहिर पठाउनुपर्ने सर्त राख्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्रै ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानलाई युरेनियम राख्न नदिने अडान दोहोर्याउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “हामीलाई त्यसको आवश्यकता छैन, तर हामी त्यसलाई प्राप्त गरी सम्भवतः नष्ट गर्नेछौँ । कुनै पनि हालतमा इरानलाई यो भण्डार राख्न दिइने छैन ।”
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी नेतृत्वभित्र युरेनियम देशबाहिर पठाउँदा भविष्यमा अमेरिका वा इजरायलबाट हुनसक्ने सम्भावित आक्रमणप्रति देश थप कमजोर बन्ने विश्लेषण गरिएको छ । सर्वोच्च नेता खामेनीको निर्देशनपछि अहिले इरानी सत्तावृत्तमा युरेनियमको भण्डार देशभित्रै राख्नुपर्नेमा साझा सहमति बनेको छ । इरानले यसलाई चिकित्सा प्रयोजन र अनुसन्धानका लागि आवश्यक रहेको दाबी गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले युरेनियम प्रशोधन रोक्नुपर्ने, क्षेत्रका सशस्त्र समूहहरूलाई सहयोग बन्द गर्नुपर्ने र ब्यालिस्टिक मिसाइल क्षमता अन्त्य गर्नुपर्ने सर्त राख्नुभएको छ । यी सर्तहरू पूरा नभएसम्म युद्ध समाप्त भएको नठान्ने उहाँको चेतावनी छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले अस्थायी युद्धविराममा छ । पाकिस्तानको मध्यस्थतामा शान्ति प्रयासहरू भइरहे पनि ‘स्ट्रेट अफ हर्मुज’ माथिको नियन्त्रण, अमेरिकी नाकाबन्दी र आणविक कार्यक्रमको विवादले कुनै ठोस निकास निस्कन सकेको छैन ।
इरानका शीर्ष वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिकाले नयाँ आक्रमणको तयारी गरिरहेको सङ्केत प्राप्त भएको बताउँदै इरानी पक्ष रक्षात्मक रूपमा तयार रहेको उल्लेख गर्नुभएको छ । युरेनियम भण्डारका विषयमा आएको सर्वोच्च नेताको यो पछिल्लो निर्देशनले आगामी कूटनीतिक संवादलाई झन् चुनौतीपूर्ण बनाउने निश्चित छ ।