चलचित्र पत्रकार सङ्घद्वारा पत्रकार तथा कलाकार सम्मानित

काठमाडौं, ८ जेठ । चलचित्र पत्रकार सङ्घ नेपाल ले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न चलचित्र पत्रकार तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

बिहीबार साँझ आयोजित कार्यक्रममा रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई प्रदान गरिएको छ भने ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई अर्पण गरिएको छ । त्यसैगरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धर र कुवेरराज गिरीलाई प्रदान गरिएको सङ्घले जनाएको छ ।

यस्तै, रु ५१ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीले प्राप्त गरेका छन् भने ‘दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई प्रदान गरिएको छ । साथै रु २५ हजार राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा राजेश हमाल, दिनेश डिसी, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै महानायक राजेश हमाल ले नेपाली चलचित्र क्षेत्रलाई स्थापित गर्न चलचित्र पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले पत्रकारिताले तथ्यमा आधारित आलोचना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले चलचित्र पत्रकारितासँग सहकार्य गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पङ्गेनी, पल शाह, जितु नेपाल, सुरक्ष्या पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापा लगायतको उपस्थिति रहेको थियो ।