बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने

हेटौँडा, ११ जेठ । बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो १:०० बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आज बस्ने पहिलो बैठकमा मुख्यमन्त्रीका साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ। नेताहरूले आ–आफ्नो दलका तर्फबाट शुभकामना मन्तव्य राख्नुका साथै आगामी बजेट र नीति तथा कार्यक्रमका सम्बन्धमा प्रारम्भिक धारणा सार्वजनिक गर्नेछन्।

नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम आह्वान गरिएको यस अधिवेशन मुख्यतया आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। सरकारले केही दिनभित्रै आगामी वर्षको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने र त्यसपछि संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गरी बजेटको पूर्वतयारीका लागि वर्षे अधिवेशन बोलाउन सिफारिस गरेको थियो। प्रदेशको आगामी आर्थिक मार्गचित्र र विकासका योजनाहरू तय गर्ने भएकाले यस अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ।