नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम
आगजनीबाट जलेर नष्ट भएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को स्रेस्ता
राँझा (बाँके), १ असोज : जेनजी प्रदर्शनका क्रममा आगजनीबाट जलेर नष्ट भएका नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयका ३१ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरिएको छ।
भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेका अनुसार विसं २०८२ भदौ २४ गते भएको आगजनीमा कार्यालय भवनसँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। आगजनीपछि असोज र कात्तिक दुई महिना कार्यालयको सेवा बन्द भएको थियो। मङ्सिर १ गतेदेखि भने भाडाको भवनबाट सेवा पुनः सञ्चालन गरिएको हो।
कार्यालय प्रमुख सन्तोष विकका अनुसार मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको छ।
“आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम तीव्ररुपमा भइरहेको छ। कार्यालयबाट सकेसम्म सहज रुपमा सेवा प्रवाह गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड हुने गरे पनि सेवा प्रभावित नहोस् भन्ने गरी काम गरिरहेका छौँ।”
विसं २०७४ पछिका स्रेस्ता डिजिटलाइज्ड भएकाले पुनः कायम गर्न सहज भए पनि त्यसअघिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का अवस्थाबारे यकिन गर्नुपर्ने भएकाले प्रक्रिया लामो हुने गरेको कार्यालयले जनाएको छ। त्यस्ता स्रेस्ता कायम गर्दा सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेलगायत प्रक्रियागत काम गर्नुपर्ने भएकाले समय बढी लाग्ने गरेको कार्यालय प्रमुख विकले बताउनुभयो ।
उहाँले मालपोत तथा भूमि प्रशासन कार्यालयमा सेवा लिन जाँदा ढिलासुस्ती हुने भन्ने आमधारणा रहे पनि सेवाको प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा सेवाग्राही अलमलमा पर्ने गरेका कारण समय लाग्ने गरेको बताउनुभयो ।
सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन कार्यालयले सेवाग्राही सहायता कक्ष स्थापना गरी सेवा सुरु गरेको छ। कार्यालय प्रमुख विकले लेखापढी व्यवसायीमार्फत सेवा लिँदा सेवाग्राहीमाथि अतिरिक्त आर्थिक भार पर्न सक्ने भएकाले सहायता कक्षबाट आवश्यक सहयोग लिन आग्रह गर्नुभयो ।
विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिने अवस्थाबाहेक सेवाग्राहीको काममा ढिलासुस्ती हुन नदिने गरी सेवा प्रवाहमा जोड दिइएको उहाँले बताउनुभयो ।
आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले हाल विद्युत्रोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ ।
