कर्मचारीको तलबमा करिब २१ प्रतिशत वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधामा करिब २१ प्रतिशतसम्म वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको सेवा–सुविधा र पारिश्रमिक पुनरावलोकन गरिएको घोषणा गर्नुभयो।

नयाँ बजेट वक्तव्य अनुसार साविकको महँगी भत्तालाई निरन्तरता दिँदै कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। यसका साथै कर्मचारीहरूले थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत प्राप्त गर्नेछन्। यस व्यवस्थासँगै सरकारी कर्मचारीहरूको न्यूनतम पारिश्रमिक मासिक रु. ४० हजार कायम भएको छ भने अधिकतम पारिश्रमिक रु. १ लाखभन्दा बढी पुगेको छ।

यसअघि सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धि गरेको थियो। त्यसयता कर्मचारीहरूको आधारभूत तलब बढेको थिएन भने चालु आर्थिक वर्षको बजेटले केवल महँगी भत्ता मात्रै बढाएको थियो।