सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन, नेपाललाई ‘सडक बालबालिकामुक्त’ बनाइने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा क्षेत्रमा रु. १ खर्ब २० अर्ब बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस क्षेत्रको बजेट व्यवस्थापन र सामाजिक नीतिबारे जानकारी दिनुभयो।

बजेट वक्तव्य अनुसार सरकारले मुलुकलाई सडक बालबालिकामुक्त बनाउने नीति लिई सोही अनुरूपका कार्यक्रम सञ्चालन गर्नेछ। समाजमा व्याप्त विभिन्न विकृति तथा विसङ्गतिहरूको अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य गरिने बजेटमा उल्लेख छ।

यसैगरी, बालबालिकाहरूको अधिकार संरक्षण र उनीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन देशका विभिन्न स्थानमा सञ्चालित बाल सुधार गृहहरूको भौतिक पूर्वाधार तथा व्यवस्थापकीय पक्षमा व्यापक सुधार गरिने घोषणा सरकारले गरेको छ।