अमेरिका–इरान सम्झौता अझै अन्तिम भइसकेको छैन: इरानी सञ्चारमाध्यम
तेहरान/वाशिङ्गटन (एजेन्सी), १५, जेष्ठ । अमेरिका र इरानबीच हुन लागेको भनिएको सम्भावित समझदारीको मस्यौदामा फेरबदल गरिएको र यो अझै अन्तिम चरणमा नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन्। इरानको अर्धसरकारी समाचार संस्था ‘तस्निम न्युज एजेन्सी’ ले उच्च स्रोतलाई उद्धृत गर्दै हालैका दिनमा समझदारीको पाठ मा परिवर्तन गरिएको दाबी गरेको छ।
तस्निमका अनुसार अज्ञात स्रोतले सञ्चारमाध्यममा आएका सम्झौतासम्बन्धी कतिपय विवरणहरूलाई ‘गलत’ भन्दै खण्डन गरेको छ। यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुई देशबीच ठोस सहमति भएको दाबीसहितका समाचार सार्वजनिक गरेका थिए।
समाचार संस्था एएफपीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, अमेरिका र इरानबीच हाल जारी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र स्थायी शान्ति स्थापनाका लागि वार्ता सुरु गर्ने प्रारम्भिक रूपरेखामा सहमति जुटेको छ।
त्यस्तै, अमेरिकी न्युज पोर्टल ‘एक्सियोस’ ले प्रस्तावित सम्झौताका केही महत्वपूर्ण बुँदाहरू सार्वजनिक गरेको थियो। एक्सियोसका अनुसार सम्झौता कार्यान्वयनमा आएमा सामरिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक जहाजहरूको ढुवानी ‘अप्रतिबन्धित’ हुनेछ। यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी हटाउने शर्त रहेको उल्लेख गरिएको थियो।
यद्यपि, इरानी पक्षले पछिल्लो समय मस्यौदामा भएका परिवर्तनका कारण सम्झौताले अन्तिम रूप पाउन अझै बाँकी रहेको स्पष्ट पारेको छ। दुई देशबीचको यो सम्भावित समझदारीलाई मध्यपूर्वमा जारी तनाव न्यूनीकरण गर्ने एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।