भक्तपुर औद्योगिक मेला सुरु : पहिलो दिन १५ हजारले गरे अवलोकन
भक्तपुर, १६ जेठ । भक्तपुरमा शुक्रबारदेखि ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने मूल नाराका साथ दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित यस मेलाको पहिलो दिनमै १५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले एक समारोहका बीच मेलाको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन मन्तव्यका क्रममा उहाँले सरकारले युवा रोजगारी प्रवद्र्धनका लागि महासङ्घसँगको साझेदारीमा विशेष कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहहरूले युवा स्वरोजगारमूलक तालिमहरू महासङ्घमार्फत सञ्चालन गरे त्यसले थप प्रभावकारिता पाउने उहाँको भनाइ थियो ।
सो अवसरमा भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितले मेलाले भक्तपुरको विशिष्ट कला, संस्कृति र पहिचानलाई जनस्तरमा थप प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार सुनिश्चित गर्न र जिल्लाको समग्र आर्थिक विकासमा टेवा पुर्याउनु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म सञ्चालन हुने यस मेलामा कुल ४८ वटा स्टलहरू रहेका छन् । मेलामा मौलिक हस्तकलाका उत्पादन, कृषि उत्पादन, नेपाली हाते एवं तानका तयारी पोशाक, छालाका सामान, गरगहना, मूर्ति तथा उपहारका सामग्री र रैथाने एवं अर्गानिक खाद्य सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको मेलाका मिडिया संयोजक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।
मेला अवधिभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मेला संयोजक एवं सङ्घका कोषाध्यक्ष रञ्जित मारिखुले बताउनुभयो । मेलाले स्थानीय उद्योगी, व्यापारी र कृषकहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रसार गर्ने महत्त्वपूर्ण थलो प्रदान गरेको छ ।