आय करको सीमामा ठूलो हेरफेर : व्यक्ति वा दम्पतीको १० लाखसम्मको आयमा १ प्रतिशत मात्र कर

काठमाडौँ,  जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत आयकरको सीमामा व्यापक हेरफेर गर्दै सर्वसाधारणलाई राहत दिएको छ । नयाँ व्यवस्थाअनुसार अब प्राकृतिक व्यक्ति वा दम्पती दुवैको हकमा वार्षिक १० लाख रुपियाँसम्मको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्नेछ ।

यसअघि आयकर गणना गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ मात्र भन्ने व्यवस्था रहेकोमा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पती’ भन्ने शब्दहरू थप गरिएको छ। यसले दम्पतीका रूपमा कर तिर्नेहरूका लागि पनि नयाँ मार्ग प्रशस्त गरेको छ ।

१० लाखसम्म : कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतीको १० लाख रुपियाँसम्म करयोग्य आय भएमा १ प्रतिशत कर लाग्नेछ । यसअघि व्यक्तिको ५ लाखसम्मको आयमा मात्र १ प्रतिशत कर लाग्ने गरेको थियो ।

१० देखि १५ लाखसम्म : वार्षिक १० लाखभन्दा बढी तर १५ लाख  रुपियाँसम्म करयोग्य आय भएमा, सुरुको १० लाखमा १० हजार रुपैयाँ र सोभन्दा माथिको आयमा १० प्रतिशत आयकर लाग्नेछ। (यसअघि ५ देखि ७ लाखसम्मको आयमा १० प्रतिशत कर लाग्ने व्यवस्था थियो)।

१५ देखि २५ लाखसम्म : वार्षिक १५ लाखभन्दा बढी तर २५ लाख रुपियाँसम्म कर योग्य आय भएमा, सुरुको १५ लाखमा ६० हजार रुपियाँ र सोभन्दा बढी आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

२५ लाखभन्दा बढी : वार्षिक २५ लाखभन्दा बढी करयोग्य आय भएमा, सुरुको २५ लाखमा २ लाख ६० हजार रुपियाँ र सोभन्दा बढी आयमा २७ प्रतिशत आयकर लाग्नेछ ।

थप अतिरिक्त कर : ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय हुनेहरूको हकमा भने बढी भए जति आयमा थप २ प्रतिशत विन्दुले अतिरिक्त कर लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

छुट र अपवादहरू
सरकारले केही विशेष क्षेत्रमा भने १ प्रतिशतको नियम लागू नहुने स्पष्ट पारेको छ। एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तभरण (पेन्सन) बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने यो नयाँ दरअनुसारको कर लाग्ने छैन ।

सरकारको यो नयाँ व्यवस्थाले मध्यम वर्गीय परिवार र विशेष गरी रोजगारीमा रहेका व्यक्ति तथा दम्पतीहरूलाई आर्थिक रूपमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।