अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित तीन घाइते
अछाम, १६ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिकामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक–४ मा जिप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारु रहेका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये चालकसहित दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेहरूमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह रहेका छन् । उनीहरूको सुर्खेतमा उपचार भइरहेको छ ।
यस्तै, स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।