दैलेखमा पेट्रोलियम उत्खननको तयारी: चीनसँग दोस्रो चरणको सम्झौताका लागि गृहकार्य सुरु

काठमाडौँ, १६ जेठ ।  नेपालमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि खानी तथा भूगर्भ विभागले दोस्रो चरणको सम्झौताको गृहकार्य थालेको छ। दैलेखको जलजलेमा पहिलो चरणको अन्वेषण सफल भएपछि विभागले चिनियाँ पक्षसँग व्यावसायिक उत्खननका लागि थप सम्झौता गर्ने तयारी गरेको हो।

चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित ‘पेट्रोलियम अन्वेषण परियोजना’ले दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ र अन्वेषण कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको छ। व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन विभाग र ‘चाइना जियोलोजिकल सर्भे’बीच नयाँ सम्झौता गर्नका लागि आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ।

पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार, चिनियाँ प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेका कार्यहरू सम्पन्न भएका छन्। यी विभिन्न प्राविधिक अध्ययन र नमुना परीक्षणबाट सो क्षेत्रमा पेट्रोल र प्राकृतिक ग्यासको उच्च सम्भावना रहेको पुष्टि भएको छ।

परियोजनाको दोस्रो चरणमा प्रवेश गरेसँगै अब ग्यास र तेलको वास्तविक भण्डारण परिमाण र गुणस्तरको अन्तिम परीक्षण गरिनेछ। यदि यो परियोजना सफल भएमा नेपालले इन्धन आयातमा खर्च गर्दै आएको अर्बौँ रुपैयाँ स्वदेशमै रोकिनेछ। यसले मुलुकको व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्न र समग्र आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।