अमेरिका–इरान युद्धविराम थप र होर्मुज जलमार्ग खुलाउने विषयमा छलफल
एजेन्सी, १६ जेठ । अमेरिका र इरानबीच जारी तनाव मत्थर पार्ने प्रयासस्वरूप युद्धविरामको अवधि थप गर्ने र सामरिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे उच्च अधिकारीहरूसँग परामर्श गर्नुभएको छ, यद्यपि अन्तिम सम्झौताको निर्णय भने अझै हुन बाँकी छ।
ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकाको सुरक्षा चासो पूर्ण रूपमा सम्बोधन नभई र इरानको आणविक कार्यक्रममा नियन्त्रणको सुनिश्चितता नभई सम्झौतामा हस्ताक्षर नगर्ने अडान राख्नुभएको छ।
यसअघि दुवै देशका प्रतिनिधिहरूबीच भएको प्रारम्भिक छलफलअनुसार हाल कायम रहेको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने प्रस्ताव गरिएको छ। सो अवधिमा इरानको आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षाका विषयमा घनीभूत वार्ता गर्ने योजना छ।
यता, इरानका संसद् अध्यक्ष एवं प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले कूटनीतिक शब्दजालभन्दा पनि व्यवहारिक कदममा जोड दिनुभएको छ। उहाँले विश्वासको वातावरण बनाउन दुवै पक्षबाट सम्झौताको ठोस कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभएको छ। “व्यवहारिक कदम चालिएपछि मात्र वार्तामा थप प्रगति सम्भव छ,” उहाँले भन्नुभयो।
पछिल्लो विकसित घटनाक्रमले अमेरिका र इरानबीचको संवाद सकारात्मक दिशामा अघि बढेको सङ्केत गरे पनि अन्तिम सहमतिमा पुग्न केही प्राविधिक र राजनीतिक जटिलताहरू अझै बाँकी रहेको देखिएको छ।