राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा र उपाध्यक्ष गिरीसहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा र उपाध्यक्ष मुकुन्दश्याम गिरीसहित १८३ जना वरिष्ठ नेता तथा कार्यकर्ताहरूले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी त्याग्नेहरूमा पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ लगायतका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनका पदाधिकारी एवं क्रियाशील कार्यकर्ताहरू रहेका छन्। उनीहरूले राप्रपाको मूल नेतृत्वमा चरम वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित शैली मौलाएका कारण पार्टीमा बस्ने वातावरण नरहेको दाबी गरेका छन्।
संयुक्त वक्तव्यमा राप्रपाको स्थापनाकालीन मुख्य आदर्श ‘संवैधानिक राजसंस्था’ लाई लत्याउँदै नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई वर्तमान सरकारको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने न्यूनतम साझा कार्यक्रममा साझेदारी गरेको भन्दै गम्भीर आपत्ति जनाइएको छ। राजसंस्था पुनःस्थापनाको लक्ष्य बोकेको दल गणतन्त्र बलियो बनाउने सरकारको हिस्सेदार बन्नु गम्भीर विरोधाभास भएको उनीहरूको आरोप छ।
वि.सं. २०८२ को निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारहरूको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वकै कमजोरी प्रमुख कारण रहेको असन्तुष्ट पक्षको ठहर छ। पार्टीभित्र विधान पालनाको आवाज उठाउँदा उल्टै कारबाही भोग्नुपर्ने र जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णयसमेत नेतृत्वले उल्लंघन गरेको वक्तव्यमा उल्लेख छ।
संस्थापक नेताहरूको अपमान र नयाँ पुस्ताको अवमूल्यन भएको महसुस गर्दै आफूहरूले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई जोगाउन बाध्य भएर पार्टी त्यागेको उनीहरूले स्पष्ट पारेका छन्। राप्रपा छाडेका नेता धवलशमशेर राणाले छिट्टै नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरिरहेको उनीहरू निकट स्रोतले जनाएको छ।