ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी : नीतिगत सुधारका लागि इप्पानको माग

काठमाडौँ,  जेठ २१ । नेपालको विद्युत् उत्पादन क्षेत्रमा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब प्रवर्धक पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको बजेट समीक्षा तथा कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त तथ्याङ्क बाहिर आएको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार नेपालको कुल विद्युत् जडित क्षमतामा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको छ । हाल मुलुकको कुल ४ हजार २०० मेगावाट जडित क्षमतामध्ये निजी क्षेत्रले मात्र ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिरहेको उनले जानकारी दिए ।

कुल लगानीमध्ये बैंक तथा वित्तीय संस्थाहरूको ८ खर्ब ७० अर्ब र प्रवर्द्धकहरूको ४ खर्ब ४० अर्ब रुपैयाँ परिचालन भएको इप्पानले जनाएको छ । ऊर्जा क्षेत्रले हाल ३ लाखभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै राज्य कोषमा वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गर्दै आएको छ ।

अध्यक्ष कार्कीले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि बजेटमा ठूला आयोजनाको विद्युत् खरिद सम्झौता (पिपीए) का विषयमा ठोस योजना नआउँदा लगानीकर्ताहरू सशङ्कित भएको बताए । उनले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत झन्झट बाधक रहेको उल्लेख गर्दै ‘एकद्वार प्रणाली’ को आवश्यकतामा जोड दिए ।

“एउटा आयोजना सम्पन्न गर्न ८ वटा मन्त्रालय र २३ वटा विभाग धाउनुपर्ने वर्तमान अवस्थाले द्रुत विकास सम्भव छैन,” कार्कीले भने, “हामीले ५० वर्षको अनुमतिपत्र अवधि, निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहभागिता, र वन तथा वातावरणीय समस्याको स्थायी समाधानका लागि सरकारसँग माग गरेका छौँ ।”

यसैगरी, इप्पानले बाढी प्रभावित जलविद्युत् आयोजनाहरूलाई राहत प्रदान गर्न, आयोजना स्थलमा सुरक्षाको प्रत्याभूति गर्न र कर छुटका सुविधाहरूमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत तीन वर्षमा पावर समिट र हाइड्रोएक्स्पो जस्ता उपलब्धिमूलक कार्यक्रम आयोजना गरे पनि नीतिगत तहमा सुधार नहुँदा ऊर्जा क्षेत्रले अपेक्षित गति लिन नसकेको इप्पानको निष्कर्ष छ ।