इजरायलसँगको सैन्य सहकार्य बढाउने अमेरिकी प्रस्तावको विरोध: दुई सांसदद्वारा रक्षा विधेयकमा संशोधनको तयारी
वासिङ्टन डीसी, १८ जेठ ।अमेरिका र इजरायली सेनाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अमेरिकी रक्षा बजेटको एउटा बुँदालाई लिएर अमेरिकी संसद् (कंग्रेस) भित्रै विरोध सुरु भएको छ। डेमोक्र्याटिक सांसद रो खन्ना र रिपब्लिकन सांसद थोमस मासीले आगामी रक्षा बजेटबाट इजरायल समर्थक उक्त खण्ड हटाउन पहल गर्ने घोषणा गरेका छन्।
अमेरिकी सेनाको बजेट तय गर्ने वार्षिक ‘राष्ट्रिय रक्षा प्रमाणीकरण ऐन’ को पछिल्लो मस्यौदामा ‘सेक्सन २२४’ समावेश गरिएको छ। यस प्रावधानअनुसार दुई देशका सेनाबीच संयुक्त प्राविधिक विकास र समन्वयको रेखदेख गर्न एक ‘कार्यकारी एजेन्ट’ नियुक्त गर्ने प्रस्ताव गरिएको छ। जसले अमेरिका र इजरायलको सैन्य सम्बन्धलाई थप गहिरो बनाउने लक्ष्य राखेको छ।
आइतबार डेमोक्र्याटिक सांसद रो खन्नाले आफू ‘हाउस आर्मड सर्भिसेज कमिटी’को सदस्य रहेको हैसियतले विधेयकबाट सेक्सन २२४ हटाउन संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन्। उनका रिपब्लिकन सहकर्मी थोमस मासीले पनि यो प्रावधानको विरोध गर्दै अमेरिका एक सार्वभौम देश भएको र विदेशी सरकारसँग यसरी गाँसिनु नहुने तर्क गरेका छन्।
मासीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “हामी एक सार्वभौम मुलुक हौँ।” उनको यस भनाइलाई समर्थन गर्दै खन्नाले पनि इजरायलसँगको यो सैन्य साझेदारीको विरोधमा आफू मासीको साथमा रहने प्रतिबद्धता जनाएका छन्। प्रगतिशील विचारधाराका खन्ना र लिबरेटारियन मासीले विगतमा पनि युद्ध विरोधी अभियान र सरकारी पारदर्शिताका लागि मोर्चाबन्दी गर्दै आएका छन्।
पारदर्शिता र जनमतको प्रश्न
आलोचकहरूका अनुसार सेक्सन २२४ ले इजरायललाई दिइने अमेरिकी सैन्य सहयोगलाई ‘सहकार्य’को नाममा लुकाउन सक्ने र यसले पारदर्शितामा कमी ल्याउने छ। यस्तो समयमा यो प्रस्ताव आएको छ, जब इजरायलप्रति अमेरिकी जनताको समर्थन घट्दो क्रममा छ।
द न्यूयोर्क टाइम्स र सिएना कलेजले हालै गरेको एक सर्वेक्षणअनुसार ५७ प्रतिशत अमेरिकी मतदाताहरू इजरायललाई थप आर्थिक र सैन्य सहयोग गर्ने पक्षमा छैनन्। सन् २०२३ यता गाजामा जारी इजरायली आक्रमणमा ७५,००० भन्दा बढीको मृत्यु भइसकेको छ, जसको अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भइरहेको छ।
कंग्रेसभित्र आरोप-प्रत्यारोप
सैन्य सहकार्यको विरोध गरेपछि सांसद मासीले आफ्नै दलका सहकर्मीको आलोचना समेत खेप्नु परेको छ। रिपब्लिकन सांसद डेरिक भ्यान ओर्डेनले मासीलाई ‘एन्टी-सेमिटिक’ (यहूदी विरोधी) को आरोप लगाउँदै यो सम्झौताले अमेरिकालाई इजरायली उच्च प्रविधि प्रयोग गर्ने अवसर दिने दाबी गरेका छन्।
जवाफमा मासीले सन् २०२४ मा लेबनानमा भएको ‘पेजर विस्फोट’को घटनालाई संकेत गर्दै व्यङ्ग्य गरे, “के यो सम्झौताले हामीलाई ती उन्नत इजरायली पेजरहरू पाउन योग्य बनाउँछ?”
१.१५ ट्रिलियन डलरको यस वर्षको विधेयकमा इजरायलसँग सम्बन्धित अन्य थुप्रै प्रस्तावहरू पनि छन्, जसमा सुरुङ विरोधी र ड्रोन विरोधी क्षमतामा सैन्य सहकार्य अनिवार्य गर्ने विषयहरू समावेश छन्। तर, सेक्सन २२४ लाई लिएर सुरु भएको यो विवादले अमेरिकी राजनीतिमा इजरायल नीतिप्रति बढ्दो मतभेदलाई छताछुल्ल पारेको छ।(स्रोतः अलजाजीरा तथा अन्तराष्ट्रिय न्यूज एजेन्सीहरु)