नेता रिसाए भनेर होइन, जनता रिसाए भनेर चिन्ता गरौँ : महामन्त्री गगन थापा

काठमाडौँ, जेठ २६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको असन्तुष्टिभन्दा पनि जनतामा देखिएको आक्रोशप्रति चिन्ता व्यक्त गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेता व्यवस्थापनभन्दा जनस्तरको समस्या समाधानमा केन्द्रित हुन सुझाव दिनुभएको हो ।

महामन्त्री थापाले केन्द्रको राजनीतिक समीकरणको चिन्ता नगरी जिल्लाका आम नागरिक र मतदाताको भावना बुझ्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । पार्टीका साधारण सदस्यहरूको महत्त्वमाथि जोड दिँदै उहाँले भन्नुभयो, “कुन नेता रिसाए भन्नेतिर ध्यान नदिनुस्, बरु पार्टीको चुनाव चिह्नमा मतदान गर्ने जनता किन चिढिएका छन् भन्ने विषयमा गम्भीर बन्नुस् । केन्द्रको समन्वय म गर्छु, तपाईंहरू जिल्ला सम्हाल्नुस् ।”

गत निर्वाचनको नतिजालाई संकेत गर्दै उहाँले जनताको असन्तुष्टिका कारण अपेक्षित सफलता हासिल हुन नसकेको र अब जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

उम्मेदवार छनोट तल्लो तहबाटै हुने
महामन्त्री थापाले आगामी २०८४ सालको निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रियामा आमूल परिवर्तन गरिने घोषणा समेत गर्नुभयो । अब केन्द्रले ‘अँध्यारो कोठा’ मा बसेर उम्मेदवार तोक्ने परिपाटीको अन्त्य गरिने उहाँको भनाइ थियो ।

“अब उम्मेदवार माथिबाट लाद्ने होइन, तल्लो तहबाटै छनोट गर्ने पद्धतिको विकास गरिँदैछ,” उहाँले स्पष्ट पार्नुभयो, “गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्णय गोरखाकै पार्टी सदस्यहरूको अभिमतका आधारमा हुनेछ ।” पार्टी सदस्यहरूको शक्ति र निर्णयलाई संस्थागत गर्दै तल्लो तहलाई नै अधिकारसम्पन्न बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।