नवलपरासीमा भीषण हावाहुरीले विनयी त्रिवेणीमा १७ घर र २ गोठमा क्षति
नवलपरासी, २७ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा मङ्गलबार आएको भीषण हावाहुरीले ठुलो भौतिक क्षति पुर्याएको छ। वर्षासहितको हुरीले गाउँपालिकाको वडा नं. १, सिसेनी क्षेत्रका १७ वटा घर र दुई वटा गोठका छाना उडाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार मङ्गलबार अपराह्न आएको हुरीका कारण स्थानीयका घरका टिनका छाना उडेका छन् भने केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ। हुरीको वेगले केही कच्ची घरका पर्खाल चर्किएका छन् भने एउटा घरको ब्लकको पर्खाल नै भत्किएको छ।
प्रहरीका अनुसार हावाहुरीबाट भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमालको घरमा क्षति पुगेको छ। त्यसैगरी, मनबहादुर राना र केमबहादुर विकको गोठ पनि हुरीले भत्काइदिएको छ। स्थानीय कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एउटा कोठाको ब्लकको पर्खाल खसेको एसपी खड्काले जानकारी दिए।
हुरीले घरका छाना र पर्खालमा क्षति पुर्याए पनि मानवीय तथा पशुचौपायामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। “भौतिक क्षति भए पनि सबै परिवार सुरक्षित छन् र कोही पनि विस्थापित हुनुपर्ने अवस्था छैन,” एसपी खड्काले भने।
अहिले प्रभावित क्षेत्रमा क्षतिको थप विवरण सङ्कलन गर्ने र स्थानीयलाई सुरक्षित रहन आग्रह गर्ने काम भइरहेको छ। केही दिनदेखि देशका विभिन्न भागमा वर्षा र हावाहुरीको क्रम बढेकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।