बाढीले क्षति पुर्‍याएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा, २७ जेठ । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीले क्षति पुर्‍याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ। बाढीका कारण भोटेकोशी नदीस्थित बाँध (ड्याम) संरचनामा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो।

आयोजना कार्यालयका अनुसार हाल बाँधस्थलमा थुप्रिएको बालुवा र गेग्रान हटाउने कार्य द्रुत गतिमा भइरहेको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वले बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोधहरू हटाइसकिएको जानकारी दिनुभयो। यसका साथै ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादन गृहका उपकरणहरूको सफाइ कार्यसमेत सम्पन्न भइसकेको छ। बाढीले कटान गरेको ड्याम तथा विद्युत्‌गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) निर्माण गर्ने काम जारी छ।

आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको थियो। तर, २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको बाँध संरचनामा क्षति पुर्‍याएपछि आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि सुरुङ तथा उपकरणहरूको आवश्यक सफाइ गरी गत मङ्सिर २० गतेदेखि आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो।

कुल २३ अर्ब ७३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस आयोजनामा ४.८ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्‌गृहमा खसालिन्छ। आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार विद्युत्‌गृहमा जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनमार्फत अधिकतम १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ।