रचनात्मक उद्योगको विकासका लागि काठमाडौँ र ललितपुरको साझा पहल: ‘फर सीसीआइ’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ, जेठ २७ । रचनात्मक उद्योगको विकास, विस्तार र अनुभव आदानप्रदानका लागि स्थापना गरिएको ‘कल्चरल एण्ड क्रियटिभ इन्डष्ट्रिज फ्रेण्डस ग्रुप’ (फर सीसीआइ) को दोस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न उक्त बैठकले स्थानीय तह र अन्तर्राष्ट्रिय निकायहरूबीचको समन्वयमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चलचित्र र संगीतका माध्यमबाट पहिचानको खोजी
युनेस्को रचनात्मक सहर सञ्जालमा काठमाडौँ महानगरपालिका ‘चलचित्र’ विधा र ललितपुर महानगरपालिका ‘संगीत’ विधाबाट सदस्य बनेका छन्। सोही सन्दर्भमा दुवै महानगरले आफ्ना कार्ययोजनाहरू प्रस्तुत गरेका छन् ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई ‘खुला स्टुडियो’ को रूपमा विकास गर्ने योजना सुनाउनुभयो। “हामी टोल–टोलमा फिल्म महोत्सव आयोजना गर्दैछौँ,” उहाँले भन्नुभयो, “स्थानीय समुदायका कथालाई चलचित्रसँग जोड्ने र सार्वजनिक स्थलहरूमा फिल्म प्रदर्शन गरी समुदायलाई यस क्षेत्रमा आकर्षित गर्ने हाम्रो लक्ष्य हो ।” यसबाट सिर्जनात्मक क्षेत्रमा लागेका बुवाआमा र युवाहरूको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संगीत विधालाई समुदायस्तरमा विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्राथमिक योजनाका बारेमा जानकारी दिनुभयो ।

सांस्कृतिक नीति र अन्तर्राष्ट्रिय अभ्यास
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेशसुरस श्रेष्ठले २०७२ को संविधानअनुरूप ‘सांस्कृतिक नीति २०६७’ लाई परिमार्जन र सामयिक संशोधन गर्ने कार्य भइरहेको बताउनुभयो ।

एशोसियसन अफ साउथइष्ट एशियन नेशन्स (आशियान) का कल्चर एण्ड कम्युनिकेसन युनिट प्रमुख टान घी टियोङले ‘एशियान क्रियटिभ इकोनोमी सस्टेनेविलिटी फ्रेमवर्क’ का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड जस्ता देशहरूले ट्रेडमार्क र प्रतिलिपि अधिकारका माध्यमबाट दीर्घकालीन आय आर्जन गरिरहेको उदाहरण दिँदै नेपालले पनि यसबाट सिक्न सक्ने उल्लेख गर्नुभयो।

साझा मञ्च र भावी दिशा
बैठकमा युनेस्कोका नेपाल प्रतिनिधि ज्याको डु टोइट र ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक रुस्तम मोदीले दुवै महानगरको प्रयासको सराहना गर्दै यसले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। चलचित्र निर्माता सोफिया पाण्डेले रचनात्मक उद्योगको संस्थागत विकासका लागि नीतिगत स्पष्टता हुनुपर्नेमा जोड दिनुभयो ।

रचनात्मक अर्थतन्त्र, दिगो विकास, र रोजगारी सिर्जनाका लागि स्थानीय सरकार, युनेस्को, ब्रिटिस काउन्सिल, आइएलओ  लगायतका निकायहरूको यो साझा मञ्चले आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउने लक्ष्य लिएको छ। यसअघि समूहको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो ।