राष्ट्रिय सभामा आज गृह र अर्थसहित ८ मन्त्रीले बजेटमाथिको छलफलमा जवाफ दिने

काठमाडौँ, २३ असार । राष्ट्रिय सभाको आज बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित आठ जना मन्त्रीले विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदैछन्। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो सवा १२ बजे बस्ने कार्यसूची रहेको छ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

यसैगरी रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतका विभिन्न बजेट शीर्षकहरूमाथि उठेका जिज्ञासाको पनि आजै सम्बोधन गरिनेछ।

मन्त्रीहरूको जवाफ सकिएपछि राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा पेस गरिएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३’ लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई समेत अगाडि बढाउने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।