रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना : ८ जना घाइते, दुईको अवस्था गम्भीर

रुकुमपूर्व, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्थित स्यालापाखा सडक खण्डमा आज बिहान यात्रुबाहक जिप दुर्घटना भएको छ । लाम्फाकोटबाट रुकुमपश्चिमको खलङ्गातर्फ जाँदै गरेको भे १ ज ६०४५ नम्बरको जिप सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डेका अनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तत्काल सुरक्षाकर्मी र स्थानीयको टोली पुगेर घाइतेहरूको उद्धार गरेका थिए । घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

अविरल वर्षाका कारण सडक चिप्लो भएकाले जिप चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।