भोटेकोशी बाढीको तीव्र कटानले पृथ्वी राजमार्गका तीन ठाउँमा सडक ध्वस्त, कृष्णभीर तत्काल खुल्ने सम्भावना न्यून
चितवन, १६ भदौ । रसुवाको भोटेकोशी बाढीपछि उर्लिएको त्रिशूली नदीले सडकको आधार (जग) मै कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्ड क्षतविक्षत भएको छ । नदीको तीव्र बहावका कारण यस खण्डका तीनवटा प्रमुख स्थानमा सडक भासिएपछि राजधानी जोड्ने मुख्य मार्ग अवरुद्ध बनेको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार सबैभन्दा ठुलो क्षति मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा भएको छ ।
आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झन्डै २०० मिटर सडक पूर्ण रूपमा भासिएको छ । बाढीले नदी किनारमा लगाइएको ‘रिटेनिङ वाल’ (सुरक्षा पर्खाल) नै बगाएपछि सडकको माथिल्लो भाग र डाँडासमेत चिरिएको छ । “यहाँको क्षति यति भयावह छ कि तत्काल मर्मत गरेर सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,” इन्जिनियर मिश्रले भन्नुभयो ।
मलेखुबाट ३ किलोमिटर मुग्लिनतर्फ शीतल बजारमा ५० मिटर सडक भासिएको छ । यहाँ पहाडतर्फको भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसै गरी, मलेखु पुलबाट १ किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा झन्डै १०० मिटर सडकको नदीपट्टिको भाग भासिएर कालोपत्रे खसेको छ ।
आयोजनाको पूर्वी खण्डका इन्जिनियर राजिव मानन्धरका अनुसार परेवाभीरमा थप जोखिम हुने देखिएकाले अत्यावश्यक बाहेकका सवारी रोकिएको छ । “तलबाट काम गर्न नसकिने भएकाले पहाडपट्टिको भित्तो केही काटेर र बिजुलीका पोलहरू सारेर साँझसम्म एकतर्फी बाटो खोल्ने प्रयास गरिरहेका छौँ,” उहाँले जानकारी दिनुभयो ।
आयोजनाका प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार यस वर्ष त्रिशूली नदीले धार परिवर्तन गरी सडकको फेदमा केन्द्रित भएकाले क्षति बढी भएको हो । “नदीको सतह घटबढ भइरहेको छ र कमजोर माटो भएको ठाउँमा कटान तीव्र छ,” उहाँले भन्नुभयो, “रिटेनिङ वाल नै नरहेकाले सडकको जग निकै जोखिममा छ ।”
कृष्णभीरको सडक तत्काल बन्ने अवस्था नभएपछि सरकारले गोरखातर्फका ग्रामीण सडकहरूलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने गरी अध्ययन थालेको छ । ती सडकहरूमध्ये उपयुक्त मार्ग छनोट गरी तत्काल मर्मत सम्भार गरेर साना र अत्यावश्यक सवारी पठाउने लक्ष्य राखिएको छ ।
काठमाडौँको ‘लाइफलाइन’ मानिने यस राजमार्गबाट दैनिक करिब १४ हजार सवारी साधन आवतजावत गर्ने गर्दछन् । सडक ध्वस्त भएपछि इन्धन र खाद्यान्न ढुवानीमा समेत ठुलो समस्या पैदा भएको छ ।