निरन्तर ओरालो लाग्यो शेयर बजार
काठमाडाैं, २ कार्तिक । साताकाे तेस्राे कारोबार दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ।
बुधकार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६६ अंक घटेको छ।
यस दिन २१६ स्टकको २० हजार २७४ पटकको कारोबारमा २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख ७ हजारमा खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै होटलको शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन नबिल बैंक र रिडी हाइड्रोपावरको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।