काठमाडौ। राष्ट्रिय खेलकुद परिषदले पूर्वाञ्चलको विराटनगरमा आयोजना गर्न लागेको सातौ राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन्। ललितपुरको सातदोवाटो स्थित एन्फा कम्पलेक्समा बसेको बैठकले सातौ राष्ट्रिय खेलकुदमा सहभागी बन्ने खेलाडी संख्यालाई किटान गरेर निर्णय गरिएको हो।
परिषदका सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले जिल्ला, क्षेत्र छनौट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुने पनि जनाएको छ।३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधि राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ।
बैठकले विभिन्न जिल्लामा खेलस्थल पनि निर्धारण गरेको छ। सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ । सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ। कांस्य पदक ४ सय ५७ छ । बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ। सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुने भएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।